सेतो कागजका रित्ता पानाहरूमा
सहजीकरण गरेर
शिष्टता बोलेर
निलो मसी बगाउँदै
आश्वस्त हुने प्रयासमा
धेरै पटक मैले आफूलाई
एक्लो बनाएको छु
कागजमा मसी पोख्दै जाँदा
धेरै पटक मैले आफूलाई बेग्लै पाएको छु ।
जब,
निलो गगनमा कालो बादल मडारिन्छ
गडर्याङ गुडर्याङ आवाज
झिलिक झिलिकको दृष्यले
कान र आँखा अतालिन्छन् ।
तर,
आफू भित्रको म स्वतः जागृत हुन्छ
यी परिश्रमी कर्मशील समाजसेवी
हातहरूले कलमको युद्ध माग्छ
म कलम युद्ध पथमा डोहारिँदै जान्छु
त्यहि गाँठोमा बाँधिन खोज्छु
त्यस बखत
न घर ब्यबहारले रोक्छ
न आँशु-हाँसोले छेक्छर्
चर्मचक्षुले एकोहोरो अक्षर देख्छ ।
यसरी,
म अक्षर र्छर्दै जान्छु कविता भएर
शिष्टता बोल्दै जान्छु
लड्दै-पड्दै,नेप्टिंदै-चेप्टिंदै
तन्कंदै-खुम्चंदै भएपनि
कलम युद्धमा हेलिंदै जान्छु ।
समग्रमा
एउटै आवाज छ मेरो
अधिकार पाउन जनता अघि र्सर्नुपर्छ
संसार चलाउन कलम युद्ध गर्नुपर्छ
संसार चलाउन कलम युद्ध गर्नुपर्छ ।
रमेशप्रसाद तिमल्सिना
देबीचौर, ललितपुर