गोपीकृष्ण भट्टर्राई
बोक्सीको आरोपमा मलमुत्र खुवाई चरम कुटपिट गरी यातना दिएको भनी आरोप लागेका दुई जनालाई प्रहरीले ०६६ वैशाख ९ गते गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार पर्नेहरूमा प्यूटार गाविस-७ निवासी १८ वर्षीय श्याम लामा र सोही स्थान निवासी २२ वर्षीय कमल गोले रहेका छन् । गिरफ्तार दुबैलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।
परिसरका इन्स्पेक्टर टिकाराम रेग्मीका अनुसार दुवै अभियुक्तलाई आज बिहान प्यूटारबाटै गिरफ्तार गरिएको हो । प्यूटार घटनाका अन्य पाँचजना आरोपितहरू भने फरार रहेका छन् । घटना घटेको ३५ दिन बाँकी हुन एक दिन अगाडि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको कारण उनीहरूलाई मुद्दा दायर गरी अनुसन्धान गर्न अप्ठ्यारो भएको इन्स्पेक्टर रेग्मीले बताए ।
उता प्यूटार घटनाका आरोपितहरूलाई गिरफ्तार गर्न प्यूटारमा बसेको प्रहरी टोलीका इन्स्पेक्टर भाग्यराम तामाङले आफूहरूले गिरफ्तार नगरेको तर उनीहरू आफैं गिरफ्तारी दिन गएको उल्लेख गरे ।
प्यूटार गाविस-७ निवासी ४८ वर्षीया कल्लिकुमारी विश्वकर्माले सोही गाविस-९ को गडिभन्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापक २५ वर्षीया बिमला लामा, सोही स्थान निवासी ४५ वर्षीय दीपेश लामा, ३० वर्षीय शेरमान लामा, ३१ वर्षीया कमला गोले, झाक्रि सुवार लामाले चैत ७ गते घरमै बोलाएर बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको भन्दै महानगरीय प्रहरी परिसरमा किटानी जाहेरी परको थियो । सोही किटानी जाहेरीको आधारमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको हो ।