नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, May 20, 2009

किन जनताको बहुदलीय जनवाद ?

प्रदीप नेपाल
नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने अभियानका रुपमा जननेता मदन भण्डारीको नेतृत्वमा आरम्भ भएको जनताको बहुदलीय जनवाद यतिबेला नेपाली राजनीतिको केन्द्रीय वृत्तमा पुगेको छ । राष्ट्रियस्तरमा ०४७ सालको जनआन्दोलनको सफलता तथा अन्तर्राष्ट्रियस्तरमा नोकरशाही समाजवादको असफलताको अनुभवलाई समेटेर नेपाली सन्दर्भमा नयाँ विचारका रुपमा आरम्भ भएकेा जनताको बहुदलीय जनवादको सार थियो - हिँसात्मक सँघर्षको विरोध र प्रतिस्पर्द्धात्मक मान्यताको स्थापना । लोकतन्त्रको लहरले विश्वलाई नै आफूभित्र लपेट्दै लगेको तत्कालीन अवस्थामा जुनसुकै रुपको भए पनि एकदलीय तानाशाही अवसानको डीलमा उभिएको थियो भने स्वयम् समाजवाद प्रश्नचिन्हको घेरामा थुनिएको थियो । पुरानो जड चेतनाबाट नेपाली कम्युनिस्ट आन्दोलन अग्रगति तर्फ लाग्न सक्दैन भन्ने निष्कर्षका साथ जननेता मदन भण्डारीले अगाडी सारेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ विचार थियो ।



त्यसैले जननेता मदन भण्डारीलाई हामीले नवीन विचार भनेका हौं ।



नेकपाको पाचौँ राष्ट्रिय महाधिवेशनबाट अघि सारिएको जनताको बहुदलीय जनवादी कार्यक्रमका विरुद्धमा आरम्भदेखि नै दुबै कोणबाट आक्रमण भएको थियो । माओत्सेतुङले चिनिया क्रान्तिको अनुभव समेटेर अघि सार्नु भएको नौलो जनवादको मान्यतालाई जस्ताको तस्तै नेपालमा सार्ने नौलो जनवादी विचार बोकेका उग्रवामपन्थी कम्युनिस्ट पार्टीहरुले हाम्रो अनुभवको नयाँ विचारलाई 'दक्षिणपन्थी' 'बिसर्जनवादी' जस्ता आरोप लगाए भने दक्षिणपन्थी खेमाले जनताको बहुदलीय जनवादलाई "कम्युनिस्टहरुको देखाउने दाँत" भनेर त्यसका विरुद्ध अविश्वासको विष छर्ने काम पनि गर्‍यो । तर नेकपा एमालेले आफ्नो कार्यक्रमलाई दृढतापूर्वक अघि सार्दै गयो ।



०५१ सालमा अल्पमतको सरकार गठन गरेपछि जनताको बहुदलीय जनवादको सार्थकता सबैभन्दा पहिले प्रदर्शित भयो । मध्यावधि निर्वाचनमा त्यतिबेलाको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसलाई दोश्रो नम्बरमा झारेर नेकपा एमालेले नेपालमा कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित सरकार गठन गर्‍यो । यसरी २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न आरोह अवरोह पार गरेर स्थापनाको पैंतालिस वर्षपछि नेपालमा एकल सरकार गठन गर्ने काम गर्‍यो । दीर्घकालीन जनयुद्ध, एकदलीय नौलो जनवाद जस्ता रुढ मान्यताहरुलाई पाखा लगाएर अगाडि आएको जनताको बहुदलीय जनवादको यो पहिलो विजय थियो ।



०५२ सालको भदौ महिनामा सँबैधानिक कू मार्फत ढालिएको नेकपा एमालेको सरकारले ९ महिनाको छोटो अवधिमा कालजयी काम गर्‍यो । बजेट भनेको रेडियो टेलिभिजनको बहस होइन, जनताको चासो र जानकारीको विषय हो भन्ने सत्यको उद्घोषण गर्दै ग्रामीण क्षेत्रमा सिधै रकम पठाउने नेपाली सन्दर्भमा बिलकूलै नयाँ व्यवस्था आरम्भ गर्‍यो । "आफ्नो गाउँ आफैँ बनाऔँ" शीर्षकमा आरम्भ गरिएको यो कार्यक्रमले मुलुकको विकास निर्माणमा एउटा नयाँ लहरको सिर्जना गर्‍यो ।



नेकपा एमालेको सोही सरकारले सामाजिक सुरक्षाको सन्दर्भ उठाएर वृद्ध भत्ता, दलीत छात्रवृत्ति जस्ता कार्यक्रमहरु पनि आरम्भ गरेको थियो । आफ्नो गाउँ आफैँ बनाऔँदेखि सामाजिक सुरक्षा सम्मका कार्यक्रमहरुको आधार जनताको बहुदलीय जनवाद नै थियो । नेपालका अधिकाँश जिल्ला सदरमुकाममा सञ्चारको सञ्जाल बिछ्याउने काम पनि सोही अवधिमा भएको थियो । अहिले व्यक्तिका हातहातमा भएको मोबाइल र गाउँ गाउँ पुगेको एफ.एम. रेडियो प्रसारण पनि सोही कालको उपहार थियो नेपाली समाजलाई ।



जनताको बहुदलीय जनवादका लागि सबैभन्दा ठूलो चुनौती थियो नेकपा माओवादीले आरम्भ गरेको हिँसात्मक युद्ध । माओवादीले आफ्नो युद्धलाई चिनिया किसान क्रान्ति र सर्वहारा साँस्कृतिक क्रान्तिसँग जोडेर उठाएको थियो । आरम्भिक दमनलाई चिरेर माओवादीले आफ्नो हिँसात्मक युद्धको विस्तार गरेपछि एकपल्ट जनताको बहुदलीय जनवादका बारेमा प्रश्नहरु पनि खडा भए । जनताको बहुदलीय जनवादलाई सिद्धान्त मानेकै पार्टी दुइ चिरा भएर फुट्यो र फुटेको महत्वपूर्ण चोइटो नेकपा माओवादी भित्र छिर्‍यो । तर नौ महिने सरकारको पालामा जनतामा समेत स्थापित भैसकेको जनताको बहुदलीय जनवाद चोइटाहरुको टुक्यर््राईमै समाप्त हुने सम्भावना थिएन । कालक्रममा माओवादीको राजनीतिक उभार स्थगनको विन्दुमा पुग्यो । जनयुद्धका नाउँमा माथि जाने सिँढी समाप्त भएपछि पछिल्ला दिनहरुमा त्यसको उग्रवामपन्थता आतङ्ककारुपमा समाजमा ओइरिन थाल्यो । नेकपा एमालेको पार्टी विभाजनको कालमा अलमलिएको जनताको बहुदलीय जनवादले माओवादीले बोकेको विचारलाई "उग्रवामपन्थी" र त्यसले सञ्चालन गरेका कामकारबाहीलाई "आतङ्ककारी" को विशेषण दिएपछि माओवादी पार्टी जनताको बहुदलीय जनवाद र त्यसलाई सिद्धान्तका रुपमा अँगीकार गरेको नेकपा एमालेका विरुद्ध ज्यानमारा पारामै खनियो । राजनीतिक मूल्य र मान्यतालाई खोलामा बगाएर माओवादी पार्टी नेकपा एमालेका विरुद्ध भौतिक आक्रमणमा उत्रियो ।



जमिन्दार र पूँजीपतिहरुलाई अभयदान दिँदै माओवादीहरु आँखै चिम्लिएर प्रतिपक्षी राजनीतिक पार्टीका रुपमा रहेको नेकपा एमाले माथि खनिनु खालि आफ्नो क्षेत्रविस्तारको प्रयास मात्र थिएन । त्यसका जड नेताहरुले बुझेका थिए - जनताको बहुदलीय जनवाद पराजित नभएसम्म नौलो जनवादको नाउँमा आफूले लाएको जामाले कम्युनिस्ट मूलधारको प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले माओवादीहरु शहरदेखि गाउँसम्म, पहाडदेखि तर्राईसम्म एमालेका मान्छे मारेर विचार सिध्याउने निरंकुश अभियानमा लागे ।



बन्दुके युद्धको सन्दर्भ समाप्त भैसकेको थियो एक्काइसौँ शताब्दीमा । त्यसैले माओवादीको युद्ध पराजयमा पुगेर समाप्त हुनु अनिवार्य पनि थियो । तर एउटा देशमा बहुल कम्युनिस्ट पार्टीको परिकल्पना बोकेको, प्रतिस्पर्द्धाबाटै विपक्षीहरुलाई पराजित गर्नुपर्छ भन्ने आदर्श बोकेको नेकपा एमालेले माओवादी पार्टीलाई युगानुकूल अवतरण गर्ने औसर प्रदान गर्‍यो । काँग्रेस वा भारतले जति ठूला कुरा गरे पनि रोल्पासम्म धाएर नेकपा एमालेले, माओवादी पार्टीलाई शान्तिपूर्ण रुपान्तरणको बाटोमा ल्याउँदैनथ्यो भने मुलुक अहिले पनि रक्तमुच्छेल आहालमा डुबिरहेको हुने थियो । माओवादीका शहीदहरुको खात आठ हजारबाट दोब्रिएर सोह्र हजार पुगिसकेको हुने थियो ।



जनताका लागि शान्ति तथा राजनीतिक पार्टीका लागि प्रतिस्पर्द्धाको मान्यता बोकेको जनताको बहुदलीय जनवादले माओवादीको पनि ठूलो हीत गरेको छ शान्तिपूर्ण अवतरणमा ल्याएर ।



अङ्कगणितको हिसाबले यतिबेला माओवादी पार्टी पहिलो नम्बरमा छ । तर यो एक नम्बर पनि उसलाई जनताको बहुदलीय जनवादले नै दिएको हो । हिजो उनीहरुसँग बन्दुक थियो । बन्दूक भएकै हुनाले उनीहरुसँग जनता थिएनन् । अहिले उनीहरुले जनता र बन्दूक दुबै बोकेका छन् । दुबैतिर खुट्टा टेकेको हुनाले नै माओवादी पार्टी सिद्धान्त, नीति, कार्यक्रम र विचारहरुको अन्यौलमा बाँचेको छ । तर उनीहरुलाई एक नम्बरमा लैजाने काम बुलेट होइन ब्यालेटले गरेको हो ।



नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा बन्दुकको अन्तिम पराजयको द्योतक हो सँविधानसभाको निर्वाचन ।



यद्यपि एक्काइसौँ शताब्दीको जनवाद भनेर माओवादी पार्टीले नीतिगतरुपमा जनताको बहुदलीय जनवादले अघि सारेका केही मान्यतालाई सकारेको छ । तर अझै पनि त्यसले एक्काइसौँ शताब्दीको जनवादलाई आफ्नो कार्यक्रमका रुपमा प्रस्तुत गर्न सकिरहेको छैन ।



फरक देखाउनका लागि नामहरु भिन्न भिन्न होलान् । तर कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको अभियान बनेको जनताको बहुदलीय जनवाद लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली राजनीतिको, नेपालको वाम राजनीतिको सबैभन्दा अग्रगामी, लोकतान्त्रिक, जनप्रतिवद्ध मान्यताका रुपमा स्थापित भएको छ ।



मुलुकको गम्भिर राजनीतिक परिस्थितिमा आफैँ संघर्ष गरेर नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त बन्न सफल भएको जनताको बहुदलीय जनवादको सबलीकरणका लागि निम्न दुइ काम गर्नु जरुरी भएको छ ।



क) नेकपा एमालेले आफूलाई वामराजनीतिको केन्द्रीय वृत्तमा राख्नका लागि जनताका समस्याको समाधानका लागि सिङ्गो कम्युनिस्ट आन्दोलन परिचालित गर्नुपर्छ ।



ख) जबज प्रतिस्पर्द्धाको सिद्धान्त हो, यो कुनै छलछाम र षडयन्त्रबाट प्राप्त गरिने जनवाद होइन भन्ने चेतनालाई सर्वब्यापी बनाउनु पर्छ ।