ललितपुर । जेठ ५ गते /गोपीकृष्ण भट्टराई
शंकास्पद रुपमा मृत अवस्थामा फेला परेका एक व्यक्तिका आफन्तले घटनाको निष्पक्ष छानबिनको लागि पहल गरिदिन इन्सेकसँग आग्रह गरेका छन् । सिन्धुली जिल्ला दुम्जा गाविस घर भएका २९ वर्षीय बुद्ध लामाको ललितपुर उमनपा-१४ चापागाउँ दोबाटो नजिक रहेको कोठामा मृत अवस्थामा लाश फेला परेको भन्दै उनका आफन्तले छानबिनको लागि आवश्यक पहल गर्न ०६६ जेठ ५ गते सहयोगको अनुरोध गरेका हुन् ।
कोटेश्वरको एक रेष्टुरेष्टमा बोन्सरको रुपमा कार्यरत लामा जेठ ३ गते राति मृत अवस्थामा फेला परेका थिए । मृत अवस्थामा फेला परेपछि उनीसँगै बस्ने उनका साथिले सातदोबाटो प्रहरी कार्यलयमा खबर गरेपछि प्रहरीले लास पोस्टमार्टमको लागि पाटन अस्पताल लगनखेलमा ल्याएको थियो । परिवारका सदस्यलाई थाहा नै नदिई लास कोठाबाट अस्पतालमा ल्याइएको, मुखमा रगत भएको र घाँटीमा निलडाम भएको भन्दै मृतकका आफन्त कृष्ण लामाले रिसिबीको कारण हत्या गरेको हुन सक्ने भन्दै घटनाको निस्पक्ष अनुसन्धानको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिसँग आग्रह गरेका हुन् ।