नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, June 2, 2009

चर्चमा 'विस्फोट गराउने महिला' पक्राउ


कालो सारी लगाएकी महिला भक्तजनमाझ बस्नेबित्तिकै एउटा झोला छाडेर शौचालय जान्छु भन्दै हिंडिन्। केही मिनेटमै विस्फोट भयो।"
एजम्पसन् चर्च विस्फोट प्रकरणका पीडितहरुले सम्झने त्यो खलनायक पात्रलाई पक्राउ गरेको प्रहरीको दाबी छ। दश दिनअघि ललितपुरको धोविघाटस्थित चर्चमा प्रार्थनाको समय विस्फोट हुँदा तीन जनाको ज्यान जानुका साथै १३ घाइते भएका थिए।
सरकारले कार्यदलै बनाई अनुसन्धान थालेको एक सातामै घटनाकी दृश्य-पात्र भनिएकी २७ वर्षीय सीता थापा श्रेष्ठ पक्राउ परेकी हुन्। मंगलबार बिहान बानेश्वर शान्तिनगर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो। त्यसपछि दिउसो नेपाल प्रहरीले यसबारे साचारमाध्यमलाई जानकारी दियो।
विवाहित पति मलेसिया भई यहाँ एक छोराका साथ बसेकी २७ वर्षीया थापाको देखिने परिचय अलग छ । उनी जीवन सहारा वाल सरोकार केन्द्र ग्रामिण सृजनशील महिला उत्थान केन्द्र र हिन्दु राष्ट्र बचाउ समितिसँग सम्बद्ध भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । विस्फोटको जिम्मेवारी नेपाल डिफेन्स आर्मी नामक भूमिगत आपराधिक समूहले लिएको थियो । मुलकलाई धर्मनिरपेक्ष घोषणा गरेयता यसले हिन्दु अतिवादी नाराका साथ आपराधिक गतिविधि गर्दै आएको छ ।
"हुलिया र अन्य सूचनाका आधारमा हामीले उनलाई पक्राउ गरेका हौं। उनले अपराध लगभग स्वीकार गरेको स्थिति छ," एक उच्च प्रहरी अधिकारीले भने।
प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही सुरु गरेको छ। प्रहरीले घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदनमा डिफेन्स आर्मीका सैन्य कमाण्डर भनिने रामप्रसाद मैनालीलाई फरार अभियुक्त भनिएको छ। थापा र डिफेन्स आर्मीबीचको सम्बन्ध विस्तृत अनुसन्धानपछि खुलाइने प्रहरीले जनाएको छ।
नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख डिआइजी कुबेर रानाले प्रस्तुत गरेको प्रतिवेदनमा "चर्च विस्फोट अत्यधिक मानवीय क्षति लक्षित गरी गराइएको र धार्मिक-साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले भएको," उल्लेख छ ।
प्रहरीले घटनास्थलसम्बन्धी विस्तृत विवरण पनि प्रस्तुत गरेको थियो। साथै उपचार गराइरहेका घाइतेहरुको पछिल्लो स्थिति पनि उल्लेख गरेको छ । त्यसअनुसार पाँच जना घर फर्किसकेका र चार जना सुधारोन्मुख स्थितिमा छन्।
घटना हुनेबित्तिकै दुई जनाको मुत्यु भएको थियो। आइतबार भारतीय नागरिक ३५ वर्षीय बुद्धलक्ष्मी जोसेफको उपचारकै क्रममा मृत्यु भयो । उनी घटनास्थलमै मारिने १५ वर्षीय सेलष्टी जोसेफकी आमा हुन् । उनका पति बालन चाहिँ घाइते भएका थिए।
सुन्दर खनालबाट