ललितपुर क्षेत्र नं. २ का एकीकृत नेकपा माओवादीबाट विजयी सभासद् राजकाजी महर्जनले स्थानीय विकास अधिकारी नारायण ज्ञवालीलाई जे पनि हुनसक्ने भन्दै धम्की दिएका छन् । जिल्लामा आएको योजनाको विषयमा स्थानीयवासी सहित जिल्ला विकास समितिको कार्यालय पुगेका माओवादी सभासद् महर्जनले ०६६ असार ५ गते धम्की दिएका हुन् ।
जेठ २६ गते अर्थ मन्त्रलायलबाट लामाटार, लाकुरी भञ्ज्याङ, पनौति सडक खण्ड शिर्षमा आएकोमा १० लाख रकम पुनः मन्त्रालयबाट असार ४ गते शिर्ष परिवर्तन गरी गोदावरी, चापाखर्क खण्डको लागि विनियोजन गरी पत्र आएको थियो । सोही विषयलाई लिएर स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुगेका सभासद् महर्जनले यस्तो पाराले काम गर्दा जे पनि हुन सक्छ, जनताले गर्ने कारबाहीको लागि तयार भएर बस्नु भन्दै धम्की दिएका थिए ।
सो क्रममा विवाद हुँदा एलडीयो ज्ञवालीको टेवलको सिसा फुटेको छ । जिल्ला विकास समितिका योजना अधिकृत पशुपति पुरीले योजनाको बजेटको विषयमा सामान्य विवाद भएको उल्लखे गरे । उनले सो क्रममा टेबलको सिसा समेत फुटेको जानकारी दिए । उनले भने, 'घटना भएको समयमा म थिइन्, टेबलको सिसा फुटेको छ । विवाद सामान्य हो ।'
घटनाको सम्बन्धमा सभासद् महर्जनले सामान्य विवाद भएको उल्लखे गरे । 'कार्यालय सञ्चालन गर्ने विधि हामीलाई मन परेको छैन । जनप्रतिनिधिले गर्ने काम भएको छैन । सहमतीमै योजना बनाई पठाएकोमा पुनः शिर्ष परिवर्तन गरी योजना आएकोले हामीले आपत्ती जनाएको हो ।' सभासद् महर्जनले अगाडि भने, ' यस्तो काम नगर्नुस् मात्र भनेको हौं ।' उनले आफूले टेबलको सिसा नफुटाको भन्दै विवादको क्रममा सिसा फुटेको बताए ।
घटनालाई लिएर स्थानीय विकास अधिकारी ज्ञवालीले कुरा गर्न चाहेनन् ।
गोपीकृष्ण भट्टर्राईबाट