प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागि घाइते भएका ठेचो गाविस निवासी १३ वर्षीय मनिस
केसीको अवस्था गम्भिर रहेको छ । केसी अनल ज्योति बोडिङ्ग स्कूल ढोलाहिटीमा कक्षा नौ मा अध्ययनरत विद्यार्थी हुन् । ट्युशन पढेर घर गइरहेको अवस्थामा उनलाई नजिकैबाट प्रहरीको गोली लागेको थियो ।घर र्फकने क्रममा उनी पनि जुलुसमा सहभागी भएर प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाई छ । उनको त्रिविवि शिक्षण अस्पतलाको आईसीयुमा राखी उपचार गरिरहिएको छ । यसैगरी दश ओटा रबर गोली लागि घाइते भएका श्रेष्ठको तीन गोलीले फोक्सो छेडेको उनको मामा राजु बोगटीले चिकित्सलाई उदृत गर्दै मानव आवाजलाई जानकारी दिए । चिकित्सकलाई उदृत गर्दै उनले भने, 'दशओटा रबर गोली लागेको छ । एक गोली कुममा र बाँकी सबै ढाडमा लागेको छ ।'
गम्भिर प्रकृतिको भएकोले चिकित्सकले कुनैपनि समयमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउने बताएको समेत उनले जानकारी दिए । ०६६ असार १३ गते दिउँसो करिब ४ बजेको समयमा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । उपचारको लागि तत्कालै बी एण्ड बी अस्पताल ग्वार्को पुर्याइएका उनलाई त्यहाँबाट त्रिविवि शिक्षण अस्पताल रेफर गरी पठाइएको थियो ।
त्यसैगरी रबर गोली लागि घाइते भएका ठेचो गाविस-८ का ४० वर्षीय योगेन्द्र महत, ठूलादुर्लुङ गाविस-७ का मिठाराम सुनुवार, चापागाउँ गाविस-४ का ३० वर्षीय रामशरण महर्जन, लेले गाविस-४ का ३६ वर्षीय कान्छा लामाको पाटन अस्पतालमा उपचार भैरेहेको छ । उनीहरू सबैको खुट्टामा गाली लागेको छ । प्रहरीले कुटपिट गर्दा घाइते भएका चापागाउँ गाविस-९ बुलुका ३३ वर्षीय कुमार महर्जनको पनि पाटन अस्पातालमा उपचार भइरहेको छ । महर्जनलाई पाँचजना प्रहरीले कुटपिट गर्दा देब्रे हातको हत्केलाको दुईओटा औला भाँचिएको छ भने शरिर भरी निलडाम बसेको छ । प्रहरीको कुटपिटबाट घाइते भएका मकवानपुर जिल्ला मनहरी गाविसका ३४ वर्षीय जीवन लामा र चापागाउँका कमल महर्जन उपचार गरी घर फर्केका छन् ।
घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयमा सबै राजनीतिक दल, जिल्लाका सभासद्हरूको बैंठक आज बसेको छ । बैठकले गम्भिर घाइते भएका मनिसको उपचारको लागि गृहमन्त्रालयलाई लेखिपठाउने, चापागाउँमा जारी तनाब अन्त्यको लागि सर्वदलीय संयन्त्र बनाउने, अपहरणको आरोपमा गिरफ्तार परेको दुईजनालाई कानुनी कारबाही गर्ने, प्रहरीले गरेको बल प्रयोगको सम्बन्धमा महानगरीय प्रहरी परिसर जावलाखेलबाट अनुसन्धान गर्ने, सर्वदलीय संयन्त्रले बन्द, हड्ताल, तोडफोड, ढुंगामुढा नर्गनको लागि स्थानीयबासीलाई आहृवान गर्नेलगायतका सहमति भएको प्रमुख जिल्ला अधिकार लक्ष्मीप्रसाद ढकालले
मानव आवाजलाई जानकारी दिए ।
दुई दिनदेखि तनावग्रस्त रहेको चापागाउँ आजबाट शान्त बनेको छ । हिजो दिउँसोबाट सावारी साधनहरू सञ्चालनमा आएका छन् । बिहान सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् ।
गोपीकृष्ण भट्टराईबाट