Tuesday, October 8, 2013
चौध महिलासहित ११५ को उम्मेदवारी
ललितपुर, १७ असोज । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा १४ जना महिलासहित ११५ जनाले संविधानसभाका लागि आज उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. १ मा ४१ जना, क्षेत्र नं. २ मा ६ महिलासहित ४१ जना र निर्वाचन नं. क्षेत्र ३ मा तीन महिलासहित ३२ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा २ जना मात्र दलित उम्मेदवारहरू मधेसी जनअधिकार फोरम नेपालका सानुभाइ सुनारले निर्वाचन क्षेत्र नं. ३ बाट र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का विक्रम पोडेले क्षेत्र नं. २ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ । तीनवटै निर्वाचन क्षेत्रका २८ स्वतन्त्र उम्मेदवारमध्ये क्षेत्र नं. १ मा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार उदयशम्शेर राणाविरुद्ध काँग्रेसका जिल्ला नेता गणेशबहादुर केसी र क्षेत्र नं. २ मा एकीकृत नेकपा (माओवादी)का सरोज डङ्गोलविरुद्ध उहाँकै पार्टीका जनक थापाले मनोनयनपत्र दर्ता गर्नुभएको छ ।
ललितपुर क्षेत्र नं. १ मा एनेकपा (माओवादी) का हरि दाहाल, नेपाली काँग्रेसका उदयसम्शेर जबरा र नेकपा (एमाले)का मधुसुदन पौडेलको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नं. २ मा एमाओवादीका सरोज डङ्गोल, नेपाली काँग्रेसका चन्द्र महर्जन र नेकपा (एमाले)का कृष्णलाल महर्जन तथा क्षेत्र नं. ३ मा एमाओवादीका दिनेश महर्जन, नेपाली काँग्रेसका मदनबहादुर अमात्य र नेकपा (एमाले)का रघुजी पन्तले उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।