३० चैत । दुई दशकपछि स्थानीय तहको
निर्वाचन हुन लागिरहेको हुँदा आकांक्षीहरु धेरै नै देखिन थालेका छन् ।
महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुमा विभिन्न राजनीतिक दलका
आकांक्षीहरुले आँखा लगाउन थालेका छन् ।
नवगठित
ललितपुर महानगरपालिकामा अरु राजनीतिक दलहरुजस्तै नेकपा (एमाले) का
नेता–कार्यकर्ताहरुले पनि आफूले टिकट पाउने लबिङ थालेका छन् । जसमा, नेकपा
(एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साला ज्ञानेन्द्र शाक्य पनि इच्छुक
देखिएको बताइन्छ । सम्भावित मेयरका उम्मेद्वारमा शाक्यको नाम केही सञ्चार
माध्यमले छापेपछि उनको चर्चा हुन पुगेको हो ।
ललितपुर
नगरपालिकामा दुईदुई पटक वडाध्यक्ष भइसकेका शाक्यले महानगरपालिकाको मेयरको
दाबी गर्नु अनौठो होइन ।०४९ र ०५४ को निर्वाचनमा उनले ललितपुरको वडा नं. १८
मा सानदार मत ल्याएर चुनाव जितेका थिए । दुई दुई पटक जनप्रतिनिधि बनेर
नगरका समस्याबारे राम्रो जानकार रहेका शाक्यले मेयरमा उठ्ने इच्छा जाहेर
गर्नु सामान्य कुरा हो । स्थानीय निकायको अनुभव बटुलेका शाक्य तत्कालीन
प्रधानमन्त्री ओलीको पालामा जनसम्पर्क विज्ञका रुपमा समेत नियुक्त भएका थिए
।
आफ्नै भिनाजू पार्टी अध्यक्ष भएका बेला मेयरको टिकट पाउने
सम्भावना रहनु स्वाभाविकै हो । त्यही कारण उनले अध्यक्ष ओलीसमक्ष एक चरण
कुरासमेत राखेको बताइन्छ । तर, ओलीले मेयरका लागि उचाइँ नपुगेको भन्दै
सालाको कुरामा त्यति चासो नदेखाइरहेको स्रोतले बतायो । शाक्यले भने मेयरका
लागि तीव्र लबिङ गरिरहेको बुझिएको छ ।
अध्यक्ष
ओलीलगायतले भने ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई अगाडि सार्ने
निश्चितजस्तै भइसकेको छ । एमाले ललितपुरका अध्यक्षसमेत रहेका व्यञ्जनकारलाई
शाक्यबाहेक अरु प्रतिस्पर्धीहरुले भने बाटो खुला गरिदिएका छन् । मेयरका
लागि सम्भावित उम्मेद्वारका रुपमा हेरिएका प्रेम महर्जनले नउठ्ने बताइसकेका
छन् । मेयरका अर्का सम्भावित दावेदार ठानिएका श्रीगोपाल महर्जन भने पुनः
वडा नं. ३ मै उठ्ने भएका छन् । उनी यसअघि सोही वडाबाट निर्वाचित भएका थिए ।
मेयरका दावेदार शाक्यले पनि मेयरमा टिकट नपाएर पुनः १८ नम्बरबाटै उठ्ने
मनस्थिति बनाएको बताइन्छ ।
यसैगरी,
ललितपुरकै गोदावरी नगरपालिकाको वडा नं. ६ को संयोजक भने एमालेको पार्टी
सदस्य नै नरहेका व्यक्ति चयन हुन पुगेका छन् । साविकको लेले गाविसलाई
नगरपालिका बनाइँदा ६ नं. वडा बनाइएको छ । सो वडाको एमालेको भेलाले एमालेको
सदस्य नै नरहेका कुमार खड्कालाई चयन गरेको छ । एमाले ललितपुरका नेताहरु
मीठाराम शर्मा बजगाईँ र मधुसूदन पौडेलको उपस्थितिमा उनलाई वडा संयोजक
तोकिएको हो ।
विगतमा एमालेमै रहेका
खड्काले ०६४ र ०७० को निर्वाचनमा माओवादीलाई सघाएका थिए । तर, उनले केही
समयअघि मात्रै माओवादी केन्द्र परित्याग गरेर पुनः पुरानै पार्टीलाई रोजेका
हुन् । एमालेमा आएपछि उनले पार्टी सदस्यतासमेत नलिइरहेको अवस्थामा वडाको
संयोजक तोकिएको बताइन्छ । @ pahilonews.com.