४ वैशाख । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट विद्रोह गरेका निर्मल भट्टराई पूर्वसांसदहरुसहितको टोलीसहित एमालेमा फर्कने भएका छन् । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल,
महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायतका नेताहरुसँगको छलफलपछि
भट्टराई एमालेमै फर्कने निष्कर्षमा पुगेका हुन् । मंगलबार एमाले मुख्यालय
धुम्बाराहीमा विशेष कार्यक्रमका बीच उनी एमालेमा फर्कंदैछन् । भट्टराईसँगै
डोटीका पूर्वसांसद मोहन बम पनि एमालेमा फर्कने भएका छन् । उनी यसअघि
एमालेबाटै डोटीका सांसद भएका थिए । नयाँ शक्तिको डोटीका संयोजक समेत रहेका
बमले डोटी जिल्लाको सिंगो कमिटी एमालेमा विलय गर्ने भएका छन् ।
यसैगरी, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको केन्द्रीय सदस्यहरु
चन्द्रराज ओझा, अशोकराज ढुंगेल, रामराज मंग्राती लगायत एमालेमा प्रवेश
गर्ने भएका छन् । रौतहटबाट आदित्य झा नेतृत्वको नयाँ शक्तिको टोली पनि
मंगलबार नै भट्टराईसँगै एमाले प्रवेश गर्ने टुंगो लागेको छ । मंगलबार हुने कार्यक्रममा करिब चार सय नेता कार्यकर्ता एमालेमा प्रवेश
गर्ने भट्टराईले दैनिक नेपाललाई जानकारी दिए । बाँकीको हकमा भने जिल्ला
जिल्लामा कार्यक्रम गरेर एमालेमा प्रवेश गर्ने उनले बताए । उनका अनुसार,
नवप्रवेशीहरुलाई इतिहास, योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिने समझदारी
भएको छ ।
यसअघि झलनाथ खनाल पार्टी अध्यक्ष रहेका बेला स्वकीय सचिव रहेका भट्टराई
प्रचण्ड नेतृत्वको तत्कालिन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
बाबुराम भट्टराईले माओवादी छाडेपछि उनी भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए ।
तर, नयाँ शक्तिमा बाबुरामसँग कुरा नमिलेपछि उनी त्यहाँबाट बाहिरिएका हुन् । केही दिन अघि मात्रै भट्टराईले एमालेमा फर्कने गरी वार्ता टोली बनाएका
थिए । भट्टराईले सोमबार एमालेका विभिन्न नेताहरुलाई भेटिरहेका छन् ।