नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Sunday, April 16, 2017

एमाले सबैले एमालेलाई भोट हाले भने झापाका सबै गाउँपालिका र नगरपालिका जित्छौँः हिक्मत कार्की

२ वैशाख । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले यही वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा एमाले सबैले एमालेलाई भोट हाल्ने हो भने झापाका सबै गाउँपालिका र नगरपालिकामा एमालेले विजयको झण्डा फहराउने दाबी गरेका छन् ।

झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय चुनाव विशेष भेलामा यस्तो दाबी गरेका हुन् । ‘अहिले झापाको भद्रपुर नगरपालिका, झापा, गौरीगञ्ज, केचना–कवल र बाह्रदशी गाउँपालिकामा एमालेको अवस्था केही कमजोर हो कि भन्ने छ,’ उनले भने, ‘ती गाउँपालिका र नगरपालिकामा पनि एमाले बलियो छ । अन्य ठाउँमा पनि हामी सजिलै जित्छौँ ।’
कार्कीले त्यसका लागि एमाले सबैले एमालेलाई भोट हाल्नु पर्ने बताए । ‘म उम्मेदवार भए भने मात्र जित्छु, ऊ उम्मेदवार भयो भने जित्दैन भन्दै आफूले टिकट नपाउँदा हराउनतिर लाग्ने हो भने आफ्नो त राजनीति सकिन्छ नै एमाले पनि कमजोर हुन्छ,’ कार्कीले भने, ‘मेरो कन्सिरीमाथिका सबै रौँ फुलिसके सबैले मेरा रौँ फुलिसके अब एक पटक पाउनै पर्छ भनेर होइन । कसरी एमालेलाई जिताउन सकिन्छ भनेर लाग्नुपर्छ ।’ एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ठट्याउली पारामा केश फुलेको टाउको देखाउन भनेपछि कार्कीले टोपी नै झिकेर देखाएका थिए ।
उनले यो पटक एमालेमा आफूले मन गरेर मात्र टिकट नपाउने भन्दै जनताको मन जितेका र लोकप्रिय व्यक्तिले टिकट पाउने दाबी गरेका थिए । कार्यक्रममा सांसद् नरेश खरेल, एमाले केन्द्रीय सदस्य भाष्कर काफ्ले, कानुनविद् टिकाराम भट्टराई, प्रदेश नम्बर एक सम्र्पक कमिटी अध्यक्ष इन्द्र भण्डारीलगायतले पनि बोलेका थिए ।