नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, October 8, 2013

एमालेले बन्द र शैक्षिक हडताल गर्दैन ः तुलाधर

ललितपुर, २२ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आफ्नो पार्टीले संविधानसभा निर्वाचनको घोषणापत्रमै नेपाल बन्द र शैक्षिक हडताल नगर्ने प्रतिबद्धता ल्याउन लागेको जानकारी दिनुभएको छ । सिविन नेपालद्वारा आज ललितपुरमा आयोजित राजनीतिक दलका घोषणापत्र र बालअधिकारका सन्दर्भ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेकपा (एमाले)ले विसं २०६४ मा ल्याएको घोषणापत्रमा बालमैत्री शिक्षण सिकाइ गर्ने उल्लेख गरिएअनुसार सबै विद्यालयमा छात्रा शौचालय कार्यक्रम ल्याएको तर्क राख्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बालअधिकारको पहिलो आधारभूत अधिकार शिक्षामा लगानी बढाउने र वृत्ति विकासका लागि थप योजना ल्याउने आफ्नो पार्टीको घोषणापत्रमै उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो बालबालिकाको राम्रो शिक्षाको चाहना हुँदाहुँदै पनि गरिबी बाधक बनेको आँैल्याउँदै आर्थिक उपार्जनका कार्यक्रममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
राप्रपाका प्रवक्ता ठाकुरप्रसाद शर्माले विद्यालय पोसाकसहित जुलुसमा हिँडाउने प्रचारमा दौडाउने दल र बालबालिकाको दुरुपयोग नगर्ने सबैलाई एकै दृष्टिमा हेर्नु नहुने विचार राख्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र मिश्र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सचिव रवीन्द्र ठाकुर, सिविन नेपालका अध्यक्ष माधव प्रधानले आसन्न संविधानसभा निर्वाचन र निर्वाचनपछि बन्ने संविधानमा बालअधिकारका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले विसं २०५२ देखि ११ वर्ष चलेको सशस्त्र द्वन्द्वले बालबालिकाको बाँच्न पाउने, विकास र सहभागिताको अधिकार कुण्ठित गरेसँगै राजनीतिक अस्थिरताले अहिलेसम्म उचित वातावरण बन्न नसकेको औँल्याउनुभयो । उहाँले बालबालिकाको वर्तमान र भविष्य सुरक्षित र सुनिश्चित गर्न प्रत्येक घर परिवार, समुदाय र सरकार गम्भीर बन्न नसकेकाप्रति दुःख व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), सिविन नेपाल र राष्ट्रिय योजना आयोगले संयुक्तरूपमा हालै गरेको एक सर्वेक्षणअनुसार नेपालमा एक वर्षमुनिका सबै बालबालिकालाई दिइने खोप झन्डै १५ प्रतिशतले नपाएका, ४१ प्रतिशत बालबालिका कुपोषित रहेकाप्रति एक हजारमा ५४ जना बालबालिका र प्रतिहजारमा ३४ जना शिशु अवस्थामै ज्यान गुमाउने गरेका तथ्याङ्क छ ।